
११ पुष,वीरगञ्ज । जनता समाजवादी पार्टीले जसपा नेपालले लगाएको आरोपको खण्डन गरेको छ । जसपा नेपालले पत्रकार सम्मेलन गरे लगत्तै जसपाका महानगर अध्यक्ष इश्वरचन्द्र यादवले विज्ञप्ति जारी गर्दै जसपा नेपालले पत्रकार सम्मेलन गरी पीडित कृषक हरेन्द्र यादवलाई नै गुमराहमा राखेर त्यस पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेस यादवले लगाएको आरोप प्रति जसपाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल सरकारका खानेपानी मन्त्री समेत रहनुभएका जनता समाजवादी पार्टीका उपमहासचिव प्रदीप यादवलाई बदनाम गराउने उद्धेश्यले प्रायोजित रुपमा दुष्प्रचार गर्ने कुचेष्टा गरिएको हाम्रो ठहर रहेको विज्ञप्तिमा उल्लेख छ । कुनै तथ्य र प्रमाण बिना मनगढन्ते रुपमा कसैलाई आरोप लगाउनु निन्दनीय रहेको र यस्तो कार्य जो कोहीबाट भए पनि त्यसको जसपाले कडा प्रतिवाद गर्ने जनाउदै त्यसलाई सच्याउन पनि माग गरेको छ ।
मानो रोपेर मुरी भित्र्याउने समयमा धान बालीमा आगजनी भएर हुन पुगेको क्षतिको घटना प्रति दुःख पनि व्यक्त गरेको छ । उक्त अमानवीय र उच्छृङखल घटनाको यथार्थ र सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारबाहीको दायरामा ल्याउन माग समेत गरेको छ ।
जसपा कानुनी राज्यमा विश्वास गर्ने भएकाले घटनाको यथार्थ छानबिन भएर सत्यतथ्य बाहिर आउने अपेक्षा सहित कृषक हरेन्द्र यादवको अथक मेहनतका साथ उब्जाउनुभएको धानबालीमा हुन गएको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।