१६ पुष,वीरगञ्ज । नापी कार्यालय पर्सामा एकजना अमिनमाथि कुटपिटगर्ने लेखापढी व्यवसायी ओमप्रकाश यादवलाई वडा अध्यक्षको रोहबरमा छोडिएको छ । नापी कार्यालय पर्साको फाट नं.३ का अमिन धिरेन्द्र जयसवाललाई कुटपिट गर्ने शुभलाभ लेखापढी च्याम्बरका ओमप्रकाश यादवलाई वडा नम्बर २६ का वडा अध्यक्ष शम्भु मिश्रको रोहबरमा छोडिएको हो ।
मंगलवार १ बजेको समयमा कार्यालयमा काम गरिरहेको अवस्थामा ओप्रकाश यादवले उनले कठालो समातेर जयसवाललाई कुटपिट गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । वीरगञ्ज–१६ नगवाका मदनप्रसाद गुप्ताको एउटा जग्गाको नापजाँच गर्ने क्रममा लेखनदास र कर्मचारीबीच विवाद भएको थियो ।
त्यहि विवादमा शुभलाभ लेखापढी च्याम्बरमा कार्यरत ओमप्रकाश यादवले अमिन जयसवाललाई कुटपिट गरेको हो । यादवले भने सामान्य विवाद मात्रै भएको बताए । उनले मालपोतमा अमिनहरूको ज्यादती बढेको र पैसा नलिई सेवाग्राहीको कामै नगर्ने गरेको आरोप लगाए । उनले जग्गा नापजाँच गर्नका लागि आलटाल गरिरहेकोले सामान्य विवाद भएको प्रतिक्रिया दिए ।
घटनाबारे नापी कार्यालय पर्साका कार्यालय प्रमुख राकेशकुमार झाले पर्साका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले भने आफूले जानकारी पाएपछि नापी कार्यालयमा भएको विवादको विषयमा गम्भीर हुन निर्देशन दिएको बताए ।
उनले भने, ‘नापी कार्यालयमा फाईल तान्ने विना कारण हुलहुज्जत गर्ने र लेखापढी व्यावसायीहरुलाई कार्यालयभित्रको पहुँचलाई रोक्नु भन्दै आएको छु । सरकारी कार्यालयहरुमा लेखापढीको नाममा हुने बिचौलियाहरुको प्रवेश रोक्ने मेरो उद्देश्य नै हो । घटनाको विषयमा थप जानकारी आएको छैन ।’
घटनापछि दुवैपक्षले गल्ती स्वीकार्दै भोली बसेर टुंगो लगाउने दुवैपक्ष सहमत भएको नापी कार्यालयका सूचना अधिकारी अशोक श्रेष्ठले बताए । उनले भने, ‘सामान्य नै थियो । खासै ठूलो विवाद होईन । नापी कार्यालय र मालपोत कार्यालयमा अलिकति बढी सेवाग्राहीको चाप हुने कार्यालय पनि हो । त्यसैले सामान्य विवाद भएको हो । दुवैपक्षले गल्ती स्वीकार गरेपछि भोली टुंगो लगाउने सहमति भएको छ ।’

















