
४ वैशाख, काठमाडौँ । लामो राजनीतिक रस्साकस्सीपछि अन्ततः नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको विषयमा सत्ता गठबन्धनका दुई मुख्य दल—नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलपछि डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने निर्णयमा सहमति भएको हो ।
डा. भट्ट हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक छन् र उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । पेशागत रुपमा सुदृढ र नीतिगत दृष्टिले स्पष्ट रहेको भट्टलाई नेपाली कांग्रेसले अगाडि सारेको थियो भने प्रधानमन्त्री ओलीले पनि अन्ततः सहमति जनाएका हुन् ।
बुधबार साँझ बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री र कांग्रेस सभापतिबीच भएको विशेष छलफलमा भट्टको नाम टुंगो लागेको हो । देउवानिकट एक नेताका अनुसार, देउवाले भट्टको नाम प्रस्ताव गरेपछि ओलीले लचकता देखाउँदै त्यसमा सहमति जनाएका थिए ।
गभर्नर बन्ने दौडमा रहेका अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै भट्ट चयन भएका हुन् । यसअघि पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, नबिल बैंकका पूर्वसीईओ ज्ञानेन्द्र ढुंगाना र राष्ट्र बैंक सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे कांग्रेसको समर्थनमा अघि सरे पनि उमेरसम्बन्धी सर्वोच्चको अन्तरिम आदेशपछि दौडबाट बाहिरिएका थिए ।
प्रधानमन्त्री ओलीले भने कायममुकायम गभर्नरको जिम्मेवारी सम्हालिरहेकी डेपुटी गभर्नर नीलम ढुंगानालाई अगाडि सार्न चाहेका थिए । उनले ’महिला, डेपुटी गभर्नर र विवादरहित पात्र’को रूपमा ढुंगानाको नाममा जोड दिए पनि देउवा राजी भएनन् ।
अब अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा पेस गरिनेछ । समितिका सदस्य डा. विश्व पौडेल भारत भ्रमणमा रहेकाले सम्भवतः आइतबारपछि मात्र प्रक्रिया अगाडि बढ्नेछ । अन्ततः मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई औपचारिक रूपमा गभर्नर नियुक्त गर्नेछ ।
गभर्नर बन्ने पक्का भएसँगै डा. भट्टले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिनसक्ने अनुमान गरिएको छ ।
कांग्रेस सभापति देउवाको उपचारका लागि सिंगापुर जाने कार्यक्रम रहेकाले त्यसअघि नै गभर्नरको विषय टुंग्याउन उनले पहल गरेको कांग्रेस स्रोतले जनाएको छ ।
डा. भट्ट पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतको आर्थिक सल्लाहकारका रूपमा पनि कार्य गरिसकेका छन् । कांग्रेसभित्र विशेषगरी सुदूरपश्चिमका सांसद तथा नेताहरूले उनलाई सक्षम, नीतिगत रूपमा स्पष्ट र चलखेलबाट टाढा व्यक्तिका रूपमा अगाडि सारेका थिए ।
देशको आर्थिक दिशा निर्देश गर्ने निकायको नेतृत्व अब डा. गुणाकर भट्टको हातमा पुग्ने लगभग निश्चित छ ।