
४ वैशाख, चितवन । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा बिहीबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।
इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । बस चालक बाराको कोल्बी नगरपालिका-११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, कुलेखानी-भीमफेदी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-४ निबुवाटारमा गुडिरहेको भारतमा दर्ता भएको गाडीमा आगलागी भएको छ ।
काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको र त्यसबाट गाडी पूर्णरूपमा जलेको उनले जानकारी दिए। कार जले पनि मानवीय क्षति भएको छैन ।