Logo

१२ बैशाख, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मागअनुसार विद्युत् आपूर्ति गर्न नसक्दा औद्योगिक क्षेत्र गम्भीर संकटमा परेको छ । गत सातादेखि भारतबाट अपेक्षित विद्युत् आपूर्ति नहुँदा उद्योगहरूले दैनिक १२ घण्टासम्म लोडसेडिङ भोग्न बाध्य भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाका अनुसार उद्योगहरू फेरि पनि विद्युत् अभावकै अवस्थामा पुगेका छन् । सिमेन्ट उद्योगमा समेत दैनिक १२ घण्टा विद्युत् कटौती भइरहेको सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारूले जानकारी दिए ।

प्राधिकरणले पानीको बहाव कम हुनु र भारतमा आइपिएलका कारण माग बढेपछि इन्डियन इनर्जी एक्सचेन्जमा दर बढेको बताएको छ । हाल मैनैया–सम्पतिया लाइनबाट जम्मा ५० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ, जसले पिक समयमा करिब ५ सय मेगावाटको अभाव देखाएको प्राधिकरणले जनाएको छ ।

यता, डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल विवाद समाधानका लागि गरिएको प्रयास पनि निष्क्रिय बनेको छ । प्राधिकरणले धरौटी रकम घटाएर पुनरवलोकनको ढोका खोले पनि उद्योगीहरूले औपचारिक बिल नपाएको भन्दै पुनरावेदनमा जान मानेका छैनन् ।


सम्बन्धित समाचार