Logo

१५ वैशाख,बागमती । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ८ मा यात्रुवाहक बसको ठक्करबाट एकजनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, पोखराबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री पर्साको सखुवा पर्सौनी गाउँपालिका–३ कटैयाका ३६ वर्षीय परबेज अन्सारीको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएका अन्सारीको हेटौँडा अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार मृतक अन्सारी ना५ख ८६६८ नम्बरको ट्रकका मालिक थिए। उनको सोही क्षेत्रमा बिग्रिएको ट्रक मर्मत गर्न मिस्त्री बोलाएर फर्कने क्रममा बसले ठक्कर दिएको थियो।

ठक्कर दिने बस र त्यसका चालक उदयपुर कटारी नगरपालिका– २ निवासी ३९ वर्षीय युवराज माझीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार