Logo

१५ वैशाख,वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा आज इट्टाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालका अनुसार, नगरपालिकाको वडा नम्बर–५ बहुअर्वास्थित हिरा इट्टा भट्टा उद्योग नजिकै रहेको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको हो। प्रहरीले जनाए अनुसार, आज दिउँसो बाख्रा चराउन गएका बेला इट्टा बनाउन माटो निकालेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरूको ज्यान गएको हो।

मृत्यु हुनेमा सोही स्थानका रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी ५ वर्षीया छोरी अफसाना खातुन रहेका छन्।

बहुअर्वामा सन्तोष साहले सञ्चालन गरेको हिरा इट्टा उद्योगको इट्टा बनाउन खनिएको खाल्डोमा बालिका डुबेको घटनापछि स्थानीयले इट्टा उद्योगको चरम लापरवाही रहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। “गाउँघरमा जो कोही पनि खेतबारीतिर जान्छन्, माटो खनेपछि त्यसलाई व्यवस्थित गर्नुपथ्र्यो तर इट्टा उद्योगले लापरवाही गरेको छ। आज अनाहकमा दुई जना बालिकाले ज्यान गुमाउनुपर्यो,“ स्थानीय एक जनाले भने, “यो इट्टाभट्टाको गम्भीर लापरबाही हो, दोषीलाई कारबाही गर्नुपर्छ।“

डुबेर गम्भीर घाइते भएका दुवै बालिकाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


सम्बन्धित समाचार