
१७ जेठ,सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–१२ मा शनिबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा ६२ वर्षीय दशरथ बिष्ट रहेको वडा सदस्य जैनुदिन मियाँले जानकारी दिएका छन्।
शनिबार बिहान करिब ३ बजेको समयमा बिष्ट आफ्नो मकैबारी रुँगेर बसेका थिए। त्यसैबेला जंगलबाट आएको २०–२५ वटा हात्तीको समूहले उनलाई आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट घटनास्थलमै बिष्टको मृत्यु भएको स्थानीयले बताए।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको जनाइएको छ।
मृतक बिष्ट स्थानीय एक वन उपभोक्ता समितिका पूर्व वन रक्षक रहेको बुझिएको छ।