
१७ जेठ,वीरगञ्ज । पर्साको वीरगञ्जस्थित भारतीय दूतावास अगाडि आज भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। एक कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार, पावरहाउसबाट घण्टाघरतर्फ आउँदै गरेको भारतीय नम्बर एम.एच.०४ एम.ए ०७८६ को कारले घण्टाघरबाट पावरहाउसतर्फ जाँदै गरेको भारतीय नम्बर बि.आर २२.जे.एच ७२२७ को मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ जयमंगलापुर निवासी ४० वर्षीय उपेन्द्र कुशवाहा गम्भीर घाइते भएका छन्। ट्राफिक प्रहरीका हवल्दार अशोक चौधरीले घाइते कुशवाहाको टाउको, हात र छातीमा चोट लागेको जानकारी दिए। कुशवाहाको वीरगञ्जस्थित सर्वोत्तम अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटना गराउने कार चालक भारतको मोतिहारी जिल्ला बढहरवा ५ निवासी १९ वर्षीय अमिर अंसारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अंसारीलाई हाल वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ।