Logo

सांकेतिक तस्वीर

१९ जेठ,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१, पिडरिगुठ्ठीमा आज दिउँसो विद्युत् सर्ट भई आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, दिउँसो करिब २ः४० बजे स्थानीय मोजामिल राय भगत र उनका कान्छा भाइ हाफिज राय भगतको फुसको घरमा आगलागी भएको थियो। विद्युतीय तार सर्ट भई आगलागी भएको खबर पाउनासाथ प्रहरी चौकी पिडरिगुठ्ठीबाट प्रहरी सहायक निरीक्षक वीरेन्द्र प्रसाद यादवको कमान्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी र स्थानीयको सहयोगमा आगलागी करिब ३ः१० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीका कारण घरमा आंशिक क्षति पुगेको छ भने, घरभित्र रहेको धान, गहुँ, काठको पलंग, पंखा र लत्ताकपडा जलेर नष्ट भएका छन्। यस घटनाबाट अनुमानित एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।


सम्बन्धित समाचार