
२१ जेठ,रौतहट । रौतहटको चन्द्रपुर–१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार मालवाहक ट्रक र विद्युतीय गाडी एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार, सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक साइडपट्टी ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा सर्लाही रामनगर–१ खैरवाकी ३६ वर्षीया भगिया देवीको छाती र दाहिने हातमा गम्भीर चोट लागेर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, सर्लाही रामनगर–१ खैरवाकै ३० वर्षीय धिरेन्द्र ठाकुरको पनि पाखुरामा गम्भीर चोट लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा १८ वर्षीया रानिकुमारी यादव र रौतहटको दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन्। दुवै खतरामुक्त रहेको प्रहरीले जनाएको छ र उनीहरूको चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको छ।
इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार, ट्रक चालक मकवानपुर हेटौंडा–१३ का ग्यालसेन थोकर र सोकोन गाडीका चालक सर्लाही रामनगर–३ का आकाश सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ। ‘घटनाबारे चालकसित सोधपुछ गरिरहेका छौँ,’ उनले भने, ‘दुवै सवारीमा कसको गल्ती र कसरी भयो भन्ने अनुसन्धान हुँदै छ।’
दुर्घटनाको खबरलगत्तै प्रहरी निरीक्षक साजन साहको टोली दुर्घटनास्थल पुगेको थियो।