
२३ जेठ, काठमाडौँ । अमेरिकी सहयोग निकाय यूएस एड (USAID) का कार्यक्रमहरू बन्द भएसँगै यस निकायले प्रयोग गर्दै आएका सयौँ गाडी र मोटरसाइकल काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाहमा अलपत्र परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले यूएस एडका कार्यक्रमहरू बन्द हुँदा यी सवारी साधनहरू बन्दरगाहमा थन्किएका हुन् ।
राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको पैसाको दुरुपयोग भएको निष्कर्षसहित यूएस एडलाई बन्द गर्ने निर्णय गरेका थिए । यस निर्णयले नेपालमा सञ्चालित यूएस एडका विभिन्न परियोजनाहरूमा प्रत्यक्ष असर पारेको छ भने यस निकायले प्रयोग गर्दै आएका सम्पत्तिहरूको व्यवस्थापनमा पनि जटिलता उत्पन्न भएको छ ।
चोभारस्थित सुख्खा बन्दरगाहमा थन्किएका सवारी साधनहरूको संख्या यकिन नभए पनि, सयौँको संख्यामा गाडी र मोटरसाइकलहरू रहेको बताइएको छ। यी सवारी साधनहरू कसरी व्यवस्थापन गरिनेछ भन्नेबारे हालसम्म कुनै स्पष्ट जानकारी आएको छैन ।