Logo

२३ जेठ,जाजरकोट । भेरी नदीमा पौडी खेल्न गएका दुई जना बालबालिकाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता भएका छन्। जाजरकोटको नलगाड नगरपालिका– ८, मन्मैमा पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो तीन जना बालबालिका बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी बसन्तकुमार शर्माले दिएको जानकारी अनुसार, बेपत्ता भएकामध्ये दुई जनाको ज्यान गएको र एक जना बेपत्ता रहेका छन्। उनका अनुसार मृत्यु हुनेमा नलगाड नगरपालिका– ८ मन्मै बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपाली र सोही ठाउँका सुरेन्द्र कुसारीको अन्दाजी १२ वर्षीया छोरी आशा कुसारी रहेका छन्।

सुरेन्द्रका १० वर्षीय छोरा महेश कुसारी बेपत्ता रहेको जाजरकोट प्रहरीले जनाएको छ।

भेरी नदीमा बगिरहेको देखेपछि भगवतीको स्थानीयले उद्धार गरी आठबिसकोट नगर अस्पतालमा लगेका थिए। उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

उनीहरू शुक्रबार दिउँसो पौडी खेल्न नदी पुगेका थिए। बेपत्ता बालकको खोजी कार्य भइरहेको डिएसपी शर्माले बताए।


सम्बन्धित समाचार