
२५ जेठ, काठमाडौं । सप्तकोसी नदीमा तीन दिनदेखि बेपत्ता गोताखोर सुरज साउद मृत फेला परेका छन् ।
आज कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट उनको शव निकालिएको हो । डीएसपी पुरुषोत्तम भण्डारी नेतृत्वको टोलीले साउदको शव फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन् । भण्डारी बंगलादेशमा तालिम गरेर फर्किएका गोताखोर हुन् । उनीसँगै सप्तकोसीमा अभ्यास गर्ने क्रममा डुबेका झापाका हरदेव राजवंशीको शव भने शुक्रबार नै फेला परेको थियो ।
उनीहरू शनिबार हुने डेमो प्रदर्शनका लागि अभ्यास गर्न बिहीबार सप्तकोसी नदीमा पसेका थिए । दुवै जना सशस्त्र प्रहरीका जवान हुन् । तर अभ्यासको अन्तिम चरणमा नदीभित्र पसेका राजवंशी र साउद बेपत्ता भएका थिए । राजवंशी दुई वर्ष पहिले र साउद एक वर्ष पहिले गोताखोरको तालिम गरेर उद्धारमा खटिरहेका थिए ।
तर त्यस दिन उनीहरूको सहायताका लागि प्रयोग गरिएको डोरी चुँडिनुको साथै त्यसको केही बेरपछि अक्सिजनको सिलिन्डर पनि पानीमा तैरिएको थियो । त्यसपछि दुई जना नदीमा बेपत्ता भएका थिए । राजवंशीको शव शुक्रबार नै राजविराजमा पोस्टमार्टमपछि आफन्तले बुझेर दाहसंस्कार गरिसकेका छन् ।
आज मृत फेला परेका साउद नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।