Logo

२६ जेठ, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५, वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक युवकको शव फेला परेको छ। सडकमा रगतसहित उत्तानो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा भेटिएको शवको अनुहार र शरीरमा चोटका निशानहरूका साथै एउटा हथौडासमेत फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार, चोटहरू र हथौडाको उपस्थितिले युवकको हत्या भएको पुष्टि गर्छ।

“बीच सडकमा उत्तानो परेको शव हेर्दा हथौडा प्रहार गरेर हत्या भएको देखिन्छ,“ डीएसपी बस्नेतले बताए। “घटनास्थलमा हथौडा भेटिएको छ तर उनको पहिचान खुल्ने कुनै पनि कागजात भेटिएन।“

प्रहरीले बिहानै तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान थालेको भए पनि अहिलेसम्म घटना रहस्यमय बनेको छ। मृतकको साथबाट परिचय खुल्ने कुनै कागजात नभेटिनु, स्थानीय कसैले पनि नचिन्नु र उनी सो क्षेत्रका नियमित देखिने व्यक्तिसमेत नहुँदा अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीलाई बिहान करिब ५ बजे सडकमा शव भेटिएको सूचना आएको थियो। स्थानीयका अनुसार, राति १÷२ बजेसम्म मानिसहरू हिँड्दा शव नदेखिएको र बिहान ५ बजेतिर शव भेटिएको सूचना आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले घटना करिब ४ वा साढे ४ बजेतिर भएको हुन सक्ने अनुमान गरेको छ।

राति नै हत्या भएको हुन सक्ने स्थानीयको भनाइ छ। शवको पोस्टमार्टम रिपोर्टपछि थप अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले जनाएको छ।

 


सम्बन्धित समाचार