
२६ जेठ,वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–४, अदालत नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकै परिवारका तीनजना सामान्य घाइते भएका छन्।
सोमबार बिहान करिब १० बजे कलैयाबाट गन्जभवानिपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१२८ प ९४५० नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना.५ प. ६२९४ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा ना.५ प. ६२९४ नम्बरको मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका–१८ बस्ने ४२ वर्षीय जिउ हुसेनलाई केही नभए पनि उहाँकी श्रीमती ३५ वर्षीया सहारुन खातुनको टाउको र दाहिने खुट्टामा सामान्य चोट लागेको छ। सोही मोटरसाइकलमा सवार उहाँका छोरीहरू ४ वर्षीया सदमा खातुनको निधारमा र ६ वर्षीया नगमा खातुनको पेट तथा शरीरको भित्री भागमा सामान्य चोट लागेको छ।
घाइते तीनैजनाको प्रादेशिक अस्पताल कलैया, बारामा उपचार भइरहेको छ। दुर्घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बसपार्क बाराबाट प्रहरी नायब निरीक्षकको कमान्डमा टोली खटिएको थियो। दुवै मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट बसपार्क बाराको नियन्त्रणमा राखिएको छ।
प्रदेश २–०३–०१२८ प ९४५० नम्बरको मोटरसाइकलका चालक बारा कलैया उपमहानगरपालिका–२६ बस्ने २५ वर्षीय काशीप्रसाद यादव पनि उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।