Logo

७ असार,चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ स्थित डडुवा क्षेत्रमा यात्रुवाहक बस र इभी (विद्युतीय) गाडी आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत खहरेपुलमा धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी ठोक्किँदा दुर्घटना भएको हो।

मृतकमध्ये अधिकांश इभी गाडीमा सवार यात्रु भएको अनुमान गरिएको छ। मृतकहरूमध्ये दुई जनाको सनाखत खुलेको छ: मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र मकवानपुर हेटौंडा–५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने (पहाडी)। एक जना गर्भवती महिला पनि मृत्यु हुनेमध्ये परेकी छन्। अन्य मृतकहरूको पहिचान खुल्न बाँकी छ।

दुर्घटनापछि बस र इभी दुबै सवारी साधन घटनास्थलमै रहेकाले सडक दुबै तर्फ अवरुद्ध भएको थियो। बाटो खुलाउन क्रेनमार्फत उद्धार कार्य भइरहेको छ। दुर्घटनास्थलमा इप्रका भण्डाराबाट प्रहरी निरीक्षक रुपेश बिष्ट, खैरहनीबाट प्रहरी निरीक्षक प्रदिपजंग महत तथा इप्रका टांडीबाट प्रहरी नायब उपरीक्षक (प्रनाउ) रन्जन अवाको कमाण्डमा ४५ जनाको टोली परिचालन गरिएको छ।

घाइते १८ जनामध्ये केहीको सनाखत भएको छ। घाइतेमा मकवानपुर हेटौंडा–१३ का १६ वर्षीय सक्षम थापा, हेटौंडा–१२ का ३२ वर्षीय सिंहबीर घलान, ३१ वर्षीय विष्णु लम्साल, ३४ वर्षीय गंगा घलान, झापा गौरादह–९ की ६५ वर्षीया सुशीला बराल र ६७ वर्षीया उमा बराल, कञ्चनपुर बेलौरी–४ का ४८ वर्षीय वीरबहादुर जैसी तथा रुकुम पश्चिम आठबिसकोट–९ का ३० वर्षीय सन्देश ओली रहेका छन्।

उनीहरूमध्ये केहीको उपचार पुरानो मेडिकल कलेजमा र बाँकी १० जनाको उपचार नयाँ मेडिकल कलेज भरतपुरमा भइरहेको छ। प्रहरीले सबै घाइतेहरूको अवस्था सामान्य रहेको जनाएको छ।

घटनाको थप अनुसन्धान जारी रहेको छ।

यो पनि पढ्नुहोस :-

चितवनमा बस र विद्युतीय माइक्रो ठोकिँदा ७ जनाको मृत्यु, १८ घाइते


सम्बन्धित समाचार