
१६ असार,वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई मन्दिरको जंगलमा हिजो साँझ दुईवटा ट्रक आपसमा ठोक्किँदा एक चालक घाइते भएका छन्। घाइते चालकको करिब तीन घण्टापछि उद्धार गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, हेटौँडाबाट पथलैयाँतर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि दुवै ट्रक सडकको बायाँतर्फ पल्टिएर दुर्घटना भएका हुन्।
चालकको उद्धार र अवस्था
दुर्घटनामा ना ६ ख ३७६३ नम्बरको ट्रकका चालक, चितवनको भरतपुर उपमहानगरपालिका–१६ बस्ने अन्दाजी ३५ वर्षीय अरुण श्रेष्ठ घाइते भएका छन्। उनी ट्रकको स्टेरिङमा च्यापिएका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको कमान्डमा खटिएको सुरक्षा फौजले ट्रकको झ्याल काटेर श्रेष्ठको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उद्धारपश्चात श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडातर्फ पठाइएको छ। अर्को ट्रकका चालक भने सकुशल रहेको र दुवै ट्रकमा चालकबाहेक अन्य यात्रु सवार नरहेको डीएसपी थापाले बताए।