
१६ असार, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्लाई जनताको पक्षमा निर्णय लिने र गणतन्त्रप्रति जनआस्था बलियो बनाउने संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
आज संसद् दिवस, २०८२ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद्को भूमिकालाई परिणाममुखी बनाउनुपर्नेमा विशेष जोड दिए।
संसदलाई ‘भाषण र नाराबाजी गर्ने ठाउँ होइन’ भन्दै उनले गणतन्त्रप्रति जनतामा देखिन सक्ने वितृष्णा हटाउन सशक्त पहल आवश्यक रहेको बताए। घिमिरेका अनुसार, संसद्ले कार्य गर्ने, निर्णय लिने र परिणाम दिने मञ्च का रूपमा आफूलाई स्थापित गर्नुपर्छ। उनले गणतन्त्रप्रतिको जनविश्वास कायम राख्न र त्यसलाई कमजोर पार्ने प्रयासहरूलाई निष्फल पार्न संसद्को भूमिका महत्त्वपूर्ण हुने बताए।