Logo

rubber stamp in hand with inscription INSURANCE

२२ असार, काठमाडौं । चालू आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरूले बिमितलाई दिने भुक्तानी घटाएका छन् । गत आर्थिक वर्षको तुलनामा यस वर्षको जेठ मसान्तसम्ममा २ दशमलव ४५ प्रतिशतले दाबी भुक्तानीमा कमी आएको छ ।

गत आर्थिक वर्षको जेठ मसान्तसम्म २ लाख ६८ हजार दाबीमा कुल ५३ अर्ब ९६ करोड रुपैयाँ भुक्तानी भएको थियो । तर, चालू आर्थिक वर्षको सोही अवधिमा भने २ लाख ३८ हजार दाबीमा ५२ अर्ब ६४ करोड रुपैयाँ मात्र भुक्तानी भएको छ । यो वर्ष दाबी संख्या नै ११ दशमलव १९ प्रतिशतले कम परेकाले भुक्तानी रकममा पनि कमी देखिएको हो  ।

दाबी परेर पनि भुक्तानी नपाउने बिमितको संख्या बढ्दै

दाबी र भुक्तानी दुवै घटेको अवस्थामा पनि जीवन बिमा कम्पनीहरूले ५४ हजार ४ सय २२ जना बिमितलाई दाबी भुक्तानी दिन सकेका छैनन्। नेपाल बिमा प्राधिकरणका अनुसार, यो वर्ष ती बिमितहरूले पाउनुपर्ने कुल ४ अर्ब ५७ करोड रुपैयाँ अहिले पनि बाँकी छ ।

गत वर्षको तुलनामा भुक्तानी नपाएका बिमितको दाबीबापतको रकम ५९ दशमलव ६१ प्रतिशतले बढेको छ। गत वर्ष ३९ हजार २ सय ९८ बिमितले दाबी गरे पनि २ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी पाउन सकेका थिएनन् ।

निर्जीवन बिमाको अवस्था

निर्जीवन बिमातर्फ भने बिमितबाट आउने दाबी संख्या ५ दशमलव ३९ प्रतिशतले घटेको छ, तर भुक्तानी रकम २६ दशमलव ७४ प्रतिशतले बढेको छ ।

गत वर्ष जेठ मसान्तसम्म १ लाख ३४ हजार ५ सय ३४ वटा बिमा दाबीमा १६ अर्ब १७ करोड रुपैयाँ भुक्तानी भएको थियो । चालू आवको सोही अवधिमा १ लाख २७ हजार २८२ वटा दाबी परे पनि कम्पनीहरूले २० अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेका छन् ।

यस वर्ष पनि निर्जीवन बिमातर्फ भुक्तानी पाउन नसकेका बिमितहरूको संख्या ४ प्रतिशतले बढेको छ। गत वर्ष १ लाख २ हजार २५१ दाबीबापतको २० अर्ब २५ करोड रुपैयाँ भुक्तानी हुन सकेको थिएन । यो वर्ष सोही अवधिमा १ लाख ६ हजार ७५७ दाबीबापतको ३० अर्ब ४६ करोड रुपैयाँ बिमितले भुक्तानी पाउन सकेका छैनन् ।

यो तथ्यांकले बिमा कम्पनीहरूको भुक्तानी प्रक्रियामा केही समस्या रहेको र बिमितहरूले समयमै आफ्नो दाबी रकम प्राप्त गर्न कठिनाइ भोगिरहेको देखाउँछ । बिमा प्राधिकरणले यस विषयमा थप अनुगमन र नियमन गर्न आवश्यक देखिन्छ ।


सम्बन्धित समाचार