Logo

२२ असार, काठमाडौं । नेपालमा समस्याग्रस्त सहकारीहरूबाट बचतकर्ताहरूको पैसा फिर्ता प्रक्रिया सुस्त गतिमा अगाडि बढिरहेको छ।

हालसम्म २२ वटा समस्याग्रस्त सहकारीका ६१ हजारभन्दा बढी बचतकर्तालाई ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ फिर्ता वा हिसाब मिलान गरिएको छ। यो रकम कुल मागदाबीको करिब १० प्रतिशत मात्र हो।

ठूलो रकम अझै बाँकी

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै सार्वजनिक गरेको प्रगति विवरणअनुसार, पीडितहरूको ३४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी रकम अझै फिर्ता हुन बाँकी छ।

समितिका अनुसार, हालसम्म ६१ हजार ९४ जना मागदाबीकर्ताबाट कुल ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार रुपैयाँ को मागदाबी परेको छ। यसमध्ये समितिले आफ्नो दुई वर्षे कार्यकालमा विभिन्न प्रक्रियामार्फत असार १५ गतेसम्म ३ अर्ब ७१ करोड ६६ लाख ५ हजार ६५४ रुपैयाँ बराबरको बचत फिर्ता वा दायित्व मिलान गरेको जनाएको छ।

फिर्ताको प्रगति

गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मस् १२ हजार ९९९ बचतकर्तालाई ८३ करोड ६५ लाख २० हजार रुपैयाँ फिर्ता गरिएको थियो।

चालु आर्थिक वर्षको साढे ११ महिनामाः ३ हजार ६८९ बचतकर्तालाई २ अर्ब ५८ करोड १८ लाख ७६ हजार रुपैयाँ फिर्ता वा मिलान गरिएको छ।

यसबाहेक, ५६ हजार १०६ जनाले आंशिक रूपमा २९ करोड ८२ लाख रुपैयाँ बराबरको बचत फिर्ता वा हिसाब मिलान गरेका छन्।

समस्याग्रस्त सहकारीहरूमा फसेको ठूलो रकम फिर्ता गर्न अझै लामो समय लाग्ने देखिएको छ, जसले हजारौं बचतकर्तालाई थप चिन्तामा पारेको छ।


सम्बन्धित समाचार