
२३ असार, वीरगञ्ज । चलचित्र पत्रकार संघ नेपाल, पर्साले वीरगञ्जको घण्टाघरस्थित होटल क्लासिक बैंक्वेटमा एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहर’ को पोष्टर सार्वजनिक गरेको छ।
चलचित्रको पत्रकार संघ पर्साका अध्यक्ष सूर्यनारायण वि.क., वरिष्ठ कलाकार नन्दु श्रीवास्तव, र चलचित्र निर्माता हरी पन्तले संयुक्त रूपमा अनावरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार नन्दु श्रीवास्तवले चलचित्रले समाजको यथार्थलाई चित्रण गर्ने बताए ।
उनले नेपाली चलचित्र क्षेत्र प्रविधि र नवप्रवर्तनको प्रयोगले सुधारतर्फ उन्मुख रहेको अनुभव सुनाए । चलचित्र निर्माता हरी पन्तले ‘जनै हराएको मान्छे’ ले समाजको कथा बोक्ने अपेक्षा व्यक्त गर्दै चलचित्रको व्यावसायिक सफलताको कामना गरे । उनले चलचित्रको प्रचारप्रसारमा पत्रकार संघको सहयोगले काम सहज भएको र चलचित्रको नामले नै दर्शकमा उत्सुकता जगाएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति समेत रहेका पन्तले ‘पूर्ण बहादुरको सारङ्गी’ ले मधेशमा नेपाली चलचित्र नचल्ने धारणा गलत साबित गरेको उल्लेख गरे । नेकपा माओवादी केन्द्रका युवा नेता शिव कुमार साहले मधेशमा नेपाली चलचित्रको चर्चा बढ्दै गएको र भोजपुरी तथा हिन्दी सिनेमाको दबदबा रहेको यस क्षेत्रमा नेपाली चलचित्रको प्रदर्शनले दर्शकमा कौतुहलता बढाएको बताए ।
चलचित्र पत्रकार संघ नेपाल पर्साका अध्यक्ष सूर्यनारायण वि.क.ले ‘जनै हराएको मान्छे’ आगामी भदौ ६ गतेदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने जानकारी गराए । यस चलचित्रका निर्देशक हिमाल न्यौपाने हुनुहुन्छ भने कमल न्यौपाने र बिमल न्यौपाने निर्माता हुन्।
चलचित्रमा मुख्य भूमिकामा विजय बराल, केकी अधिकारी, मिरूना मगर, गौरव पहाडी लगायतका कलाकारहरूको अभिनय रहेको छ। आईतबार देशभर एकसाथ यस चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ।