Logo

१२ साउन, काठमाडौं । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आइतबार स्नान गर्ने क्रममा बेपत्ता भएका दुई दाजुभाइ मृत फेला परेका छन् ।

विराटनगर महानगरपालिका–३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने सोमबार बिहान करिब १० बजे मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनीहरू मामा–फुपूका छोराहरू थिए । मृतकका दाजु विवेक मिश्रका अनुसार, सुजन र मनोज साथीभाइसँग साउन १० गते काठमाडौंबाट गोसाइँकुण्ड गएका थिए। आइतबार कुण्डमा नुहाउने क्रममा एक जना चिप्लिएपछि अर्काले उद्धार गर्ने प्रयास गर्दा दुवै जना बेपत्ता भएका थिए । विवेकले भने, “एक जना भाइ नुहाउने क्रममा चिप्लिएपछि अर्का भाइ उनको उद्धार गर्न गएका थिए, यस्तो घटना भयो।“

हाल मृत फेला परेका दाजुभाइको शव काठमाडौं ल्याउने प्रयास भइरहेको परिवारले जनाएको छ। मनोज काठमाडौंमा बस्दै आएका थिए भने सुजन विराटनगरस्थित घरमा बस्थे र केही दिनअघि मात्र काठमाडौं गएका थिए।


सम्बन्धित समाचार