Logo

२० साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले कक्षा १२ को पूरक (मौका) परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले आज सूचना जारी गर्दै परीक्षा भदौ २८ र २९ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने जानकारी दिएको हो।

बोर्डका अनुसार सैद्धान्तिकतर्फ एनजी (नन् ग्रेडेड ) प्राप्त गरेका विद्यार्थी, बढीमा दुई विषयमा अनुपस्थित भएका, सैद्धान्तिकतर्फ अन्य विषयहरूमा डी वा सोभन्दा माथि ग्रेड ल्याएर कुनै एक विषयमा मात्र एनजी वा अनुपस्थित भएका विद्यार्थीले मौका परीक्षा दिन सक्नेछन् ।

यसैबीच, परीक्षाफलप्रति चित्त नबुझेका विद्यार्थीले पुनर्योग (रिचेक) का लागि साउन २९ गतेसम्म आवेदन दिन सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

गत वैशाख २१ देखि जेठ २ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नियमित तथा आंशिक परीक्षाको नतिजा यसै साता सोमबार सार्वजनिक भएको हो । बोर्डका अनुसार ५२.९१ प्रतिशत विद्यार्थी मात्र नियमिततर्फ सफल भएका छन् भने १ लाख ८७ हजार २१ जना विद्यार्थी एनजी (नन् ग्रेडेड) भएका छन्, जसले मौका परीक्षाबाट सुधारको अवसर पाउनेछन् ।

परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरूलाई समयमै प्रवेशपत्र तयारी गर्ने, आवश्यक कागजात लिएर परीक्षा केन्द्रमा उपस्थित हुने, र बोर्डको आधिकारिक वेबसाइट तथा विद्यालयमार्फत नियमित अपडेटमा रहन आग्रह गरेको छ ।


सम्बन्धित समाचार