Logo

१५ असोज, काठमाडौँ । आज दशैँको नवौँ दिन अर्थात् महानवमी पर्व देशभर विशेष श्रद्धा र भक्तिसाथ मनाइँदैछ। नवरात्रिको अन्तिम दिनका रूपमा मनाइने यस दिन देवीको नवौँ स्वरूपा माता सिद्धिधात्रीको पूजा-आराधना गरिन्छ।

मार्कण्डेय पुराणअनुसार यिनै दिन देवी चामुण्डाले रक्तबीज राक्षसको संहार गरेकी थिइन्। त्यसैले महानवमीलाई शक्ति र विजयको प्रतीकका रूपमा विशेष महत्वका साथ लिइन्छ। सिद्धिधात्रीलाई सिंहको वाहनमा विराजमान र कमललाई प्रिय वस्तु मानिने भएकाले आजको दिन देवीको आराधना गरे संसारका सबै सिद्धिहरू प्राप्त हुने विश्वास रहिआएको छ। देवी पुराणअनुसार भगवान् शिवले समेत यिनैको कृपाबाट अष्टसिद्धि प्राप्त गरेका थिए भन्ने उल्लेख छ।

यस दिन धनधान्यकी देवी महालक्ष्मीसहित कलपूर्जाका देवता विश्वकर्माको आराधना गर्ने प्रथा छ। त्यसअनुसार देशभरका उद्योग–धन्दा, कार्यालय, कारखाना, गाडी तथा हतियारहरूको पूजा–अर्चना गरिँदैछ। नेपाली सेनाले परम्परागत जङ्गी निशान पूजा गरेको छ भने प्रहरी प्रशासनका विभिन्न निकायमा कोत पूजा सम्पन्न गरिँदैछ।

महानवमीका अवसरमा उपत्यका र देशभरका शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। काठमाडौँ उपत्यकामा दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, सङ्कटा, बज्रयोगिनी, वज्रवाराहीलगायत मन्दिरमा विशेष पूजा–अर्चना हुँदैछ। हनुमानढोकामा परम्परागत रूपमा राज्यका तर्फबाट ५४ राँगा र ५४ बोका बलि दिने चलन आज पनि निरन्तर छ।

उपत्यकाबाहिर पर्सा वीरगञ्ज स्थित विन्दवासिनीमाई मन्दिर, गहवामाई मन्दिर, काभ्रेको पलान्चोक भगवती, सप्तरीको छिन्नमस्ता, डडेलधुराको उग्रतारा, जनकपुरको राजदेवी, गोरखाको मनकामना, सुनसरीको कालमन्दिर र बनेपाको चण्डेश्वरीलगायतका मन्दिरमा पनि विशेष बलि, पूजा र अनुष्ठान गरिँदैछ। कतिपय स्थानमा आज पञ्चबलि (कुखुरा, बोका, हाँस, भेडा र राँगा) दिने परम्परा पनि कायम छ।

महानवमीको अर्को विशेष आकर्षण वसन्तपुर दरबार स्क्वायरस्थित तलेजु भवानी मन्दिर हो। वर्षमा एक पटक मात्र आजैको दिन सर्वसाधारणका लागि खुल्ने यस मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरूको लामबद्ध भीड लागेको छ। भक्तजनहरूले देवी तलेजुको दर्शन गरी आशीर्वाद प्राप्त गर्ने गरेका छन्।

यसै दिन कतिपय स्थानमा कन्या पूजा गर्ने परम्परा पनि रहिआएको छ। दुईदेखि दस वर्षसम्मका बालिकालाई देवीको स्वरूप मान्दै पूजा गरी अन्न, फलफूल र नयाँ कपडा अर्पण गरिन्छ।

महानवमीलाई शक्ति, साहस र कल्याणको प्रतीकका रूपमा लिइन्छ। देवी आराधना, बलि, पूजा र अनुष्ठानमार्फत आजको दिन देशभरका जनजीवनमा आशा, विश्वास र धार्मिक उत्साह थपिएको छ।


सम्बन्धित समाचार