Logo

२५ असोज, काठमाडौं। जेनजी विद्रोहले सबै राजनीतिक दलहरूलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ। जनआन्दोलनबाट स्थापित नयाँ राजनीतिक म्यान्डेटअनुसार अब हुने निर्वाचनमा दलहरूले जनताको विश्वास जित्न प्रतिस्पर्धा गर्नुपर्ने विद्रोहको भनाइ छ।

जेनजी विद्रोहको दबाबकै कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। सोही म्यान्डेटअनुसार प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचनको मिति तोकिएको हो।

निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य अघि बढाइसकेको र चुनावको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा, विद्रोहले सरकार र आयोगमाथि भरोसा गर्दै स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न आग्रह गरेको छ।

विद्रोहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामी कुनै दलविरुद्ध होइनौं, तर जनताको आवाज दबाउने प्रवृत्तिविरुद्ध लड्छौं।”विगतमा संसद र सरकारहरूले युवा पुस्ताको परिवर्तनको माग बेवास्ता गरेको र जनविश्वास गुमाएको आरोप लगाउँदै, विद्रोहले यस्तो प्रवृत्तिलाई खारेज गरिसकेको उल्लेख छ।

राजनीतिक दलहरूलाई वैचारिक प्रतिस्पर्धा र जनसेवामा फर्कन आग्रह गर्दै निर्वाचनलाई जनताको मन जित्ने अवसरको रूपमा लिन भनिएको छ।यदि दलहरूले यो नयाँ म्यान्डेट अस्वीकार गरे वा परिवर्तनको बाटो अवरुद्ध गर्न खोजेमा देश अस्थिरता र मुठभेडतर्फ धकेलिन सक्ने चेतावनी पनि जेनजी विद्रोहले दिएको छ।


सम्बन्धित समाचार