Logo

२८ असोज, काठमाडौँ । भदौ २४ गते सर्वोच्च अदालतमा भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटका घटनाबाट व्यापक क्षति पुगेपछि स्थगित रहेका न्यायिक सेवाहरू आज (मंगलबार)देखि आंशिक रूपमा पुनः सुचारु हुने भएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार असोज २६ गते बसेको पूर्ण बैठकको निर्णयअनुसार, आजदेखि रिट निवेदनहरू तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गत पर्ने निवेदनहरूको दर्ता र सुनुवाइ सुरु गरिनेछ ।

यसअघि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन र अत्यावश्यक प्रकृतिका निवेदन मात्र दर्ता र सुनुवाइ भइरहेका थिए। अदालत परिसरमा भएको तोडफोड र अभिलेख व्यवस्थापन प्रणालीमा भएको क्षतिका कारण अन्य सेवा सञ्चालनमा अवरोध भएको थियो ।

प्रवक्ता कोइरालाले भने, “सर्वोच्च अदालतले अत्यावश्यक सेवाबाट विस्तार हुँदै अन्य कार्यसम्पादनतर्फ क्रमशः अघि बढ्ने तयारी गरेको छ। तर बाँकी सबै सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित नै रहनेछन्।”

सर्वोच्च अदालतले क्षतिग्रस्त अभिलेख पुनर्संरचना, दर्ता प्रणाली मर्मत र सुरक्षा व्यवस्थाको पुनरावलोकन गरी सेवा पूर्णरूपमा सञ्चालन गर्ने तयारी पनि गरिरहेको जनाएको छ ।


सम्बन्धित समाचार