२८ असोज, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज (असोज २८ गते) प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। प्रदेश सभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।
सचिव वासुप्रसाद कोइरालाले जानकारी दिएअनुसार, मुख्यमन्त्री सिंहले गत शुक्रबार प्रदेश सभामा पत्र पठाउँदै विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। सोही अनुरोधका आधारमा आजको बैठक बोलाइएको हो।
मुख्यमन्त्री सिंहले भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’ चर्किएको समयमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। तर, त्यसपछि उनले आफ्नो भनाइ परिवर्तन गर्दै उक्त निर्णय ‘विषम परिस्थितिमा जनधनको क्षति रोक्नका लागि गरिएको अस्थायी कदम’ भएको स्पष्ट पारेका थिए।
तर सिंहको राजीनामापछि उनको नेतृत्वमा रहेको जनमत पार्टी ले असन्तुष्टि जनाउँदै गत भदौ ३१ गते प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर सरकार र मुख्यमन्त्रीप्रति समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो। समर्थन फिर्तासँगै संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता उत्पन्न भएको हो।
आज हुने विश्वासको मत प्रक्रियाले मधेश प्रदेशको राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ। मुख्यमन्त्री सिंहले आवश्यक बहुमत जुटाउन नसके नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। तर, सिंह नजिकका स्रोतहरूले भने ‘विश्वासको मतका लागि आवश्यक समर्थन जुटाउने प्रयास अन्तिम चरणमा पुगेको’ दाबी गरेका छन्।
प्रदेश सभामा सिंहको सरकारलाई समर्थन दिने वा विरोध गर्ने दलहरूको औपचारिक धारणा आजको बैठकमै स्पष्ट हुने जनाइएको छ।
















