Logo

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन अमेरिकाको वासिङ्टन डीसी पुगेका अर्थमन्त्री रामेश्वर खनालले मंगलबार उच्चस्तरीय भेटवार्ता गरेका छन् ।

उनले विश्व बैंक समूहका प्रबन्ध निर्देशक आन्ना बेजर्डे र आईएमएफका उपप्रबन्ध निर्देशक बो लीसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै नेपालको आर्थिक सुधारको एजेन्डा र निर्वाचनको तयारी बारे छलफल गरेका हुन् ।

निर्वाचन र सुशासनमा अन्तरिम सरकारको जोड

विश्व बैंकका प्रबन्ध निर्देशक बेजर्डेसँगको भेटमा अर्थमन्त्री खनालले जेन जी समूहको प्रदर्शनपछि बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता तोकिएको समयमा निर्वाचन गराउनु र सुशासन तथा उत्तरदायित्व प्रवर्द्धन गर्नु रहेको स्पष्ट पारे । खनालले वर्तमान सरकार व्यवसायिक वातावरण सुधार गर्न संस्थागत र प्रक्रियागत सुधारमा लागेको जानकारी दिँदै कानुनी सुधारका लागि समेत कटिबद्ध रहेको बताए । विश्व बैंकले नेपालको विकास प्रयासमा गरिरहेको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरे । प्रत्युत्तरमा, विश्व बैंकका प्रबन्ध निर्देशक बेजर्डेले अन्तरिम सरकारसँग काम गर्न बैंक इच्छुक रहेको बताउँदै आर्थिक र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका विषयमा छलफल गरे ।

आईएमएफसँग निरन्तर सहकार्यको प्रतिबद्धता

आईएमएफका उप–प्रबन्ध निर्देशक बो लीसँगको भेटमा अर्थमन्त्री खनालले विस्तारित कर्जा सुविधा सम्बन्धी बाँकी सुधारका कार्यहरूलाई अघि बढाउने प्रतिबद्धता जनाए । उनले नेपालको आर्थिक सुधारमा कोषको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरे । उप–प्रबन्ध निर्देशक लीलेको छैठौं समीक्षा सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै आगामी आर्थिक सुधारका लागि कोषको निरन्तर सहयोग रहने आश्वासन दिए। यस भेटवार्तामा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको पनि उपस्थिति थियो।

लगानीकर्तालाई विश्वास दिलाउने प्रयास

अर्थमन्त्री खनालले आजै नेपाल अमेरिका चेम्बर अफ कमर्शद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई पनि सम्बोधन गरे। उनले लगानीकर्तालाई कर सम्बन्धी कानुनमा देखिएका अस्पष्टता हटाइने, नाफा फिर्ता प्रक्रिया सरलीकरण गर्ने, र लगानी स्वीकृति तथा व्यवसाय बन्द गर्दाका प्रक्रिया सजिलो पार्ने प्रतिबद्धता जनाए । कार्यक्रममा सहभागी विभिन्न कम्पनीका प्रतिनिधिहरूले कर कानुन र नियमनकारी प्रावधानहरूले लगानीकर्तालाई असहज बनाएको गुनासो गरे। अर्थमन्त्री खनालले आर्थिक ऐन तर्जुमाको क्रममा पर्याप्त छलफल मार्फत कर कानुनका विषयमा टुँगो लगाइने विश्वास दिलाए ।
आजै अर्थमन्त्री खनालले विश्व बैंक समूहका दक्षिण एशिया हेर्ने उपाध्यक्ष जोहानेस जुटसँग पनि भेट गरी हाल नेपालमा सञ्चालित विकास आयोजनाहरू र कार्यान्वयनमा देखिएका समस्याबारे छलफल गरेका छन् ।


सम्बन्धित समाचार