२८ असोज, काठमाडौं । नेपालीहरूको दोस्रो महान् चाड तिहारअन्तर्गत भाइटीकाको उत्तम साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार यस वर्षको भाइटीका कात्तिक ६ गते बिहीबारका दिन बिहान ११ बजेर ३९ मिनेटमा उत्तम रहनेछ । समिति सदस्य प्रा. देवमणि भट्टराईले मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेहरूका लागि धनु लग्न, चर बेला र विजय मुहूर्तको शुभ साइत दिइएको स्पष्ट पारेका छन् । यद्यपि, राज्य सञ्चालकहरूले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणले मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नहुने उनको भनाइ छ ।
समितिले यस वर्ष यमपञ्चक पर्व कात्तिक १ गते शनिबारबाट सुरु हुने जनाएको छ । त्यस दिन यमदीप दानको सुरुवातसँगै धन त्रयोदशी र धनतेरस पर्व पनि परेको छ । कात्तिक ३ गते सोमबार बेलुकी लक्ष्मीपूजा र दीपमालिका गरिनेछ, जुन दिन नरक स्नानसहित कुकुर तिहार पनि परेको छ ।
साथै, कात्तिक ५ गते बुधबार गाई, गोरु र आत्म (म्ह) पूजा गरिनेछ, जसै दिन नेपाल संवत् ११४६ को नयाँ वर्ष पनि सुरु हुनेछ। यमयातनाबाट मुक्ति पाउन यमपञ्चक अवधिभर यमदीपदान गर्ने र यमदूतको रूपमा काग तथा कुकुरलाई मीठा परिकार खुवाउने वैदिक परम्परा रहेको छ।
















