Logo

१ कात्तिक, काठमाडौँ । उज्यालोको पर्वका रूपमा परिचित यमपञ्चक अर्थात् तिहार आजदेखि देशभर विधिवत् रूपमा आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म मनाइने यो पर्व आजदेखि सुरु भएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १ः२३ बजेसम्म द्वादशी तिथि रहँदै त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार पर्व प्रारम्भ हुने पात्रोमा उल्लेख छ । दिउँसोपछि त्रयोदशी तिथि लाग्ने भएकाले आज धनतेरस अर्थात् धन त्रयोदशी पर्व मनाइँदैछ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार आजदेखि यमदीपदान पनि सुरु हुने परम्परा रहँदै आएको छ ।

बडा दसैंको लगत्तै आउने नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार घरघरमा नजिकिँदै गर्दा बजारमा समेत चहलपहल बढेको छ । आजको दिन विशेष गरी दीपावलीको किनमेलका लागि अत्यन्त शुभ मानिन्छ । जनविश्वास अनुसार यस दिन खरिद गरिएका सामग्री लक्ष्मी पूजाका अवसरमा प्रयोग गरिँदा धनधान्य र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

धनतेरसको दिन पवित्र मनले व्रत बस्ने, शुद्ध चित्तले पूजा अर्चना गर्ने र लक्ष्मी–गणेशको आराधना गर्ने परम्परा रहँदै आएको छ । यस दिन कमलको पुष्पासनमा विराजमान लक्ष्मी माता र गणेशजीको मूर्ति वा तस्बिर घरमा भित्र्याउनु अत्यन्त शुभ मानिन्छ । ज्योतिष परम्परा अनुसार माता लक्ष्मीको मूर्ति उभिएको नभई बसिरहेको मुद्रामा हुनुपर्छ भन्ने विश्वास छ, जसले घरमा स्थायी समृद्धि र अन्न–धान्यको वृद्धि गराउँछ ।

धनतेरसलाई ‘खरिद पर्व’ पनि भनिन्छ । यस दिन धातुका भाँडाकुँडा खरिद गर्ने परम्परा अत्यन्त प्रचलित छ । स्टिल, तामा वा पित्तलका भाँडाकुँडा किन्दा चाँदीको कुनै न कुनै वस्तु अनिवार्य रूपमा खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अझ लाभदायी हुने ज्योतिष विश्वास छ ।

धनतेरसका दिन खरिद गरिएका वस्तुहरू घरको पूर्व–उत्तर दिशामा (ईशान कोणमा) राख्नुपर्छ । यस्तो सामान अरूलाई उपहारका रूपमा नदिई आफ्नै प्रयोगका लागि राख्दा धनका देवता कुबेर प्रसन्न हुने जनविश्वास रहँदै आएको छ । साथै, यस दिन कालो रङका वस्तु किनबेच गर्नु वर्जित मानिन्छ ।

धनतेरसको अर्को विशेषता भनेको कौडी, कमलगट्टा र सिङ्गो धनियाँ किनेर घर भित्र्याउने चलन हो । यसरी खरिद गरिएका वस्तुहरू लक्ष्मी पूजामा सामेल गरी घरमा राख्दा धन–धान्यको अभाव नहुने र परिवारमा शान्ति कायम रहने धार्मिक मान्यता रहेको छ ।

तिहारका पाँच दिनहरूमध्ये पहिलो दिन धनतेरससँगै सुरु भएको यो पर्व क्रमशः कुकुर तिहार, लक्ष्मी पूजा, गोवर्धन पूजा, भाइटीका हुँदै सम्पन्न हुनेछ ।

नेपालभरका बजार, गल्ली र घरघर अहिले दीपावलीका तयारीले झिलिमिली भएका छन् । उज्यालो, सौहार्द र समृद्धिको प्रतीक तिहारले सबै नेपालीको घर–परिवारमा खुशी र प्रकाश ल्याओस् भन्ने शुभकामना देशभर व्यक्त गरिएको छ ।


सम्बन्धित समाचार