२ कार्तिक, काठमाडौँ । उज्यालोको पर्व तिहारको दोस्रो दिन आज देशभर काग तिहार मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यो पर्व आज बिहान सूर्यउदयसँगै कागलाई यमराजका दूतका रूपमा पूजा अर्चना गर्दै दही–भात र मीठा परिकार अर्पण गरेर मनाइएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार यस वर्ष त्रयोदशी तिथि आइतबार बिहान सूर्यउदयकालमा परेकाले शास्त्रसम्मत रूपमा आज काग तिहार मनाउनुपर्ने निर्णय गरिएको हो ।
हिन्दू शास्त्रअनुसार कागलाई यमराजको दूतका रूपमा मानिन्छ । यमराजले लोकका शुभ–अशुभ खबर कागका माध्यमबाट प्राप्त गर्ने विश्वास रहिआएको छ । त्यसैले आजको दिन कागलाई मीठो–मीठो चिज खान दिएर खुसी पार्दा कागले यमराज समक्ष शुभ समाचार पु-याउने र परिवारमा सुख–शान्ति रहने जनविश्वास छ ।
लोक परम्परामा काग घर वरपर आई कराएमा “शुभ बोल, शुभ बोल” भनी भन्ने चलन पनि रहिआएको छ । कागले कराउनु शुभ समाचार आउने संकेतका रूपमा लिइन्छ ।
वैदिक मन्त्रमा उल्लेख भएअनुसार ‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दहीभात रुचिकर हुने भएकाले आजको दिन कागलाई दहीभात खुवाउने परम्परा छ । यसरी कागलाई प्रसन्न पार्दा उसले यमराजलाई राम्रो सन्देश पु-याउने र परिवारका सदस्यहरू यमयातनाबाट मुक्त हुने धार्मिक विश्वास रहिआएको छ ।
काग तिहारको अवसरमा देशका विभिन्न कागेश्वरी मन्दिरहरूमा आज विशेष पूजाआराधना गरिँदैछ । कागेश्वरी मनोहरा नगरपालिका–१ मा अवस्थित प्रसिद्ध कागेश्वरी महादेव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । त्यस्तै, हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा, आरती र दीप प्रज्वलन कार्यक्रम हुँदैछ । उक्त मन्दिर परिसरमा कागको ठूलो मूर्ति स्थापित गरिएको छ, जहाँ श्रद्धालुहरू दहीभात र मिठाई अर्पण गर्दै कागको आराधना गर्छन् ।
तिहार पर्व यमराजसँग प्रत्यक्ष सम्बन्धित पर्व हो । दुष्कर्म गर्नेले यमराजबाट दण्ड भोग्ने र सत्कर्म गर्नेले धर्मराजको कृपा पाउने विश्वास यस पर्वसँग गाँसिएको छ । यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यमदीपदान गर्ने परम्परा शनिबार साँझदेखि नै सुरु भएको हो । वैदिक परम्परा अनुसार यमदीप दक्षिणमुखी गरी बाल्नुपर्छ, जसले मृत्युभय र यमदण्डबाट मुक्ति दिलाउने विश्वास गरिन्छ ।
यसैगरी, तिहारको पहिलो दिन शनिबार धनतेरस (धन त्रयोदशी) पर्व मनाइएको थियो । यस दिन गरगहना, तामाका भाँडाकुँडा तथा धातुका सामग्री किन्ने धार्मिक चलन रहिआएको छ । जनविश्वास अनुसार यस दिन खरिद गरिएका वस्तु घरमा स्थिर लक्ष्मीको बास हुने प्रतीक हुन् ।
यमदीपदान र धनतेरससँगै सुरु भएको तिहार पर्व आजको काग तिहारपछि क्रमशः कुकुर तिहार, लक्ष्मी पूजा, गोवर्धन पूजा र अन्त्यमा भाइटीकासम्म पाँच दिन निरन्तर रूपमा मनाइनेछ ।
तिहारको दोस्रो दिनको यो पर्वले नकारात्मकतामाथि सकारात्मकताको सन्देश दिने र मानव–प्रकृति सम्बन्धलाई बलियो बनाउने सांस्कृतिक मान्यता बोकेको छ ।
















