५ कार्तिक, काठमाडौँ । यमपञ्चक अर्थात् तिहार पर्व अन्तर्गत आज देशभर गाई-गोरु पूजा तथा गोवर्द्धन पूजा गरिँदैछ। यस दिनलाई हली तिहार पनि भनिन्छ, जसमा गाई, गोरु, किसान र हलोको पूजा गरी कृषि कर्म र पशुधनप्रति श्रद्धा प्रकट गरिन्छ।
वैदिक सनातन परम्परा अनुसार गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। गाईले दिने दूध आमाले खुवाएको दूधजत्तिकै पौष्टिक हुने धार्मिक मान्यता रहिआएको छ। गाईको पूजा गरी आजका दिन मीठा-मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता र समृद्धि सधैं घरमा रहन्छ भन्ने विश्वास छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। आँगनमा लिपपोत गरी गाईको गोबरबाट सानो पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने चलन रहिआएको छ। समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार, “गाई र गोरु पूजा मानव र प्रकृतिबीचको सहअस्तित्व र कृतज्ञताको प्रतीक हो।”
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरमार्फत मानिसमा शक्ति प्रदान गर्छ भन्ने वैज्ञानिक दृष्टिकोणले पनि गाईको धार्मिक र जैविक महत्व पुष्टि गरेको छ।
आज किसानहरू वर्षभर जमिन जोत्ने गोरु र हलोको पूजा गर्दै, हली तथा कृषि कर्ममा संलग्नहरूलाई सम्मान र मिष्ठान्न भोजन दिने परम्परा रहेको छ। यसैले आजको दिनलाई कृषक र पशुधनप्रतिको आस्था दिवसका रूपमा लिइन्छ।
यसअघि अस्ति सोमबार बेलुकी लक्ष्मीपूजा सम्पन्न भएको थियो भने हिजो मंगलबार तिहार अन्तर्गत कुनै विशेष कर्म परेन। यस वर्ष तिथिको घटबढका कारण सामान्यतः पाँच दिन मनाइने तिहार छ दिनसम्म लम्बिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
तिहार कार्तिक कृष्ण त्रयोदशीका दिनदेखि शुरु भई भोलि बिहीबार भाइटीकाका साथ समापन हुँदैछ। समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे रहेको छ, तर दिनभर टीका लगाउन सकिने समितिले बताएको छ।
















