Logo

५ कार्तिक, काठमाडौँ । आज नेपाल सम्वत् ११४६ विविध सांस्कृतिक र धार्मिक कार्यक्रमसहित देशभर मनाइँदैछ। नेवार समुदायले यो दिनलाई आफ्नो मौलिक नयाँ वर्षका रूपमा उल्लासपूर्वक मनाउने परम्परा रहेको छ।

नेपाल सम्वत् को शुरुवात् विसं ९३७ (इ. स. ८८०) मा राष्ट्रिय विभूति शंखधर साख्वाले गरेका हुन् । उनले त्यतिबेला गरिब जनताको ऋणमोचन गरी नयाँ सम्वत् आरम्भ गरेको जनश्रुति छ। यही ऋणमोचन अभियानलाई सामाजिक न्याय र समतामूलक समाजको प्रारम्भका रूपमा लिइन्छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार, “नेपाल सम्वत् लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भई पृथ्वीनारायण शाहसम्म मौलिक सम्वतका रूपमा चलिरहेको थियो । लिच्छविकालअघि शक सम्वत् प्रचलनमा थियो, तर नेपाल सम्वत् देशकै नाममा आधारित भएकोले यो नेपाली मौलिकता बोकेको सम्वत् हो,” उनले बताए ।

नेपाल सम्वत् केवल एक पात्रो होइन, नेपाली पहिचान, मौलिकता र सामाजिक समरसताको प्रतीकका रूपमा पनि लिइन्छ। पृथ्वीनारायण शाहको शासनकालसम्म यसलाई राज्य मान्यता प्राप्त सम्वतका रूपमा प्रयोग गरिएको थियो ।

विसं २००७ मा प्रजातन्त्र स्थापनापछि नेपाल सम्वत् लाई राष्ट्रिय मान्यता दिलाउन अभियान सुरु गरिएको थियो। विसं २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाई गरिब जनताको ऋणमोचन तथा मौलिक सम्वत् सुरु गरेको योगदानका आधारमा राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

यसपछि विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत् लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए ।

नेवार समुदायले काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, दोलखा, बाह्रबिसे लगायत क्षेत्रमा विविध र्याली, नाचगान, पूजा–आराधना र सामूहिक भोजका माध्यमबाट यो पर्व मनाउने गर्छन्।

कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाताको सुरुआत गर्ने परम्परा अझै काठमाडौं उपत्यकामा जीवित छ। यसरी आर्थिक र धार्मिक जीवनलाई नयाँ चक्रमा प्रवेश गराउने यो पर्वले नेवार समुदायमा आत्मगौरव र एकताको भावना जागृत गराउँछ ।

नेपाल सम्वत् ११४६ का अवसरमा आज राजधानीमा शोभायात्रा, दीप प्रज्वलन, संगीत तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछन् । सरकारले समेत यस दिनलाई मौलिक नेपाली नयाँ वर्षका रूपमा सम्मान गर्ने निर्णय गरेको छ।


सम्बन्धित समाचार