५ कात्तिक,वीरगञ्ज । आसन्न छठपर्वलाई लक्षित गर्दै पर्सा जिल्लाको वीरगञ्जसहित विभिन्न स्थानमा विशेष तयारी तीव्र रूपमा अगाडि बढाइएको छ । तराई-मधेसमा विशेष महत्व राख्ने यो पर्वका लागि पोखरी तथा नदी किनारको सरसफाइ र आकर्षक सजावट कार्यले तीव्रता पाएको छ ।
वीरगञ्जको ऐतिहासिक घडीअर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर र रानीघाट लगायतका स्थानमा स्थानीयवासीको सक्रिय सहभागितामा छठ पूजाका लागि आवश्यक तयारी भइरहेका छन् । यी स्थलहरूलाई रंगीन पण्डाल, बत्ती र झकिझकाउ सजावटले सिँगार्ने कार्य धमाधम भइरहेको छ ।
छठ व्यवस्थापन समिति घडीअर्वा पोखरीका अध्यक्ष राकेश साह कानुले यस वर्षको छठपर्वलाई अघिल्ला वर्षभन्दा अझ भव्य र सभ्य तरिकाले मनाउने तयारी भइरहेको जानकारी दिए । “यसपटक घडीअर्वा पोखरीमा विशेष पण्डाल निर्माण, झिलीमिली बत्ती, रंगीन सजावटले दर्शनार्थीको ध्यान आकर्षित गर्नेछ,” अध्यक्ष कानुको भनाइ छ ।
उनका अनुसार तिहारपछि सजावटको काम झन तीव्र गतिमा अगाडि बढ्नेछ । “छठ पर्वमा नेपालभित्रका विभिन्न जिल्ला र छिमेकी भारतको बिहार राज्यबाट समेत हजारौँ श्रद्धालु वीरगञ्ज आउने गर्दछन्,” उनले भने, “त्यही कारण यसपटक झन व्यवस्थित र भव्य बनाउने प्रयास भइरहेको छ ।”
घडीअर्वा पोखरीमा छठ पर्व करीब दुई दशकदेखि निरन्तर रूपमा मनाइँदै आइरहेको छ । यसपटक करिब रु २२ लाख लागतमा सजावट, पण्डाल निर्माण तथा अन्य व्यवस्थापन गरिने जनाइएको छ । समितिका अनुसार, यस पटक एक लाखभन्दा बढी दर्शनार्थीले घडीअर्वा पोखरीमा छठपूजामा सहभागी हुने अपेक्षा गरिएको छ ।
छठपर्व विशेष गरी कात्तिक शुक्ल चतुर्थीदेखि षष्ठीसम्म मनाइन्छ । यस वर्ष मुख्य दिन कात्तिक १० गते (शुक्ल षष्ठी) परेको छ । महिलाहरू व्रत बसी नदी, तलाउको किनारमा उभिएर सूर्यदेवलाई अर्घ दिँदै परिवारको सुख-समृद्धिको कामना गर्ने यो पर्व धार्मिक र सांस्कृतिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ ।
स्थानीय व्यापारी र बजारमा पनि छठसम्बन्धी सामग्री किनमेल गर्नेको चाप बढ्दै गएको छ । सरसफाइदेखि सजावट, पण्डाल निर्माण र सुरक्षा व्यवस्थासम्म सबै क्षेत्रमा व्यापक तयारी भइरहेको वीरगञ्ज उपमहानगरपालिका र स्थानीय समितिहरूले जनाएका छन् ।
















