५ कात्तिक,वीरगञ्ज । वीरगञ्जमा पछिल्लो केही दिनदेखि लामखुट्टेको प्रकोप तीव्र रूपमा बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले डेंगु र मलेरियाजस्ता रोगको जोखिम न्यूनिकरण गर्न विशेष अभियानको तयारी गरेको छ।
महानगरको सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँका अनुसार कात्तिक ६ गते बिहीबारदेखि महानगरका सबै वडामा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने काम सुरु गरिनेछ।
“गर्मी सकिएर जाडो मौसम सुरु हुने चरणमा लामखुट्टेको प्रकोप बढ्ने भएकाले संक्रमणको जोखिम न्यूनीकरण गर्न मेयर राजेशमान सिंहको निर्देशनमा हरेक वडामा पम्प स्प्रेमार्फत विषादी छर्ने तयारी गरिएको हो,” मियाँले बताए।
मंसिर ३ गतेसम्म चल्ने विषादी अभियान
महानगरले विषादी छर्ने अभियान मंसिर ३ गतेसम्म सञ्चालन गर्ने जनाएको छ। यो अभियान अन्तर्गत हरेक वडामा विशेष तालिकाका आधारमा विषादी छर्कने र नालाहरूमा लामखुट्टेको लार्भा नष्ट गर्ने काम गरिनेछ।
मियाँका अनुसार लामखुट्टे नियन्त्रणका लागि चालिएका यस्ता कदमहरू डेंगु, मलेरिया जस्ता प्राणघातक रोगहरूको संक्रमण फैलिन नदिन महत्वपूर्ण हुनेछन्।
वीरगञ्ज महानगरपालिकाले नगरवासीहरूलाई घर वरपर पानी जम्न नदिने, सरसफाइमा विशेष ध्यान दिने र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थाको सम्पर्कमा जान आग्रह गरेको छ। स्मरण रहोस्, हरेक वर्ष चिसो र गर्मीको संधिकालमा वीरगन्जमा लामखुट्टेको प्रकोप बढ्ने गरेको छ। यसैलाई मध्यनजर गर्दै महानगरले लामखुट्टे हुर्कन नदिने र हुर्किसकेका लामखुट्टे नियन्त्रण गर्न विषादी छर्ने अभियान हरेक वर्ष सञ्चालन गर्दै आएको छ।


















