५ कात्तिक,रौतहट । रौतहटको गौर नगरपालिका–५ का पूर्व वडाध्यक्ष रामस्वार्थ राय यादवको आज बिहान करेन्ट लागेर निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यादव आफ्नै करेसाबारीमा विद्युतीय मोटर प्रयोग गरी सिँचाइ गर्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए। तत्काल स्थानीयहरूले उद्धार गरी प्रादेशिक अस्पताल गौरमा पुर्याए पनि बिहान ४:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
६० वर्षीय यादव स्थानीय राजनीतिमा सक्रिय, समाजसेवी तथा सबैसँग मिलनसार र सहयोगी स्वभावका व्यक्तित्वको रूपमा परिचित थिए। वडाध्यक्षको कार्यकालमा उनले स्थानीय विकास र सामाजिक कार्यमा उल्लेखनीय योगदान दिएका थिए।
उहाँको निधनले गौर नगर तथा रौतहटको राजनीतिक र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै स्थानीयवासी, राजनीतिकर्मी तथा शुभेच्छुकहरूले गहिरो शोक व्यक्त गरेका छन्।
हाल स्वर्गीय यादवको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको छ। अन्त्येष्टि सम्बन्धी प्रक्रिया परिवारको सल्लाहअनुसार तय गरिने प्रहरीले जनाएको छ।
















