६ कात्तिक,वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल छठ पर्वपछि मधेश प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको छ। जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले बिहीबार एक विशेष भेटमा पार्टीले गठबन्धनका साझेदारहरूसँग सहमति बनाएर सरकारमा प्रवेश गर्ने जानकारी दिएका हुन्।
उनका अनुसार, मुख्यमन्त्री जितेन्द्रकुमार सोनलको नेतृत्वमा गठन भएको नयाँ सरकारले विश्वासको मत लिएपछि गठबन्धन दलहरूको साझा नीति तथा कार्यक्रमसहित जसपा नेपाल सरकारमा सहभागी हुनेछ।
सचिव साहले भने, “जसपा नेपालका सबै प्रदेशसभा सदस्यहरू सक्षम, अनुभवी र जनउत्तरदायी छन्। राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको परामर्शअनुसार संसदीय दलले वर्तमान परिस्थिति र जनताको अपेक्षालाई ध्यानमा राख्दै ईमानदार र योग्य सांसदहरूलाई सरकारमा पठाउने निर्णय गरेको छ।”
उनले थपे, “हामी जनताको विश्वास जित्दै मधेश प्रदेशलाई सुशासन, विकास र स्थायीतर्फ अघि बढाउने लक्ष्यमा छौं। छठ पर्व सकिएलगत्तै मन्त्री चयन र सरकारमा सहभागिताको अन्तिम प्रक्रिया टुङ्गो लगाइनेछ।”
स्रोतका अनुसार, जसपा नेपालले प्रदेश सरकारमा प्रवेश गरेपछि प्रशासनिक सुधार, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिने तयारी गरेको छ।
















