९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट युवाहरूले देशव्यापी रूपमा जेनजी रेडफोर्स नामक नयाँ संगठन खडा गरेको औपचारिक घोषणा गरेका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूले सातै प्रदेशसहित ६५ जिल्लामा संयोजक तोकेर आफ्नो उपस्थिति जनाइसकेको जानकारी दिए । रेडफोर्सकी संयोजक स्मृति तिमिल्सिनाले आफ्नो संगठनको प्रमुख एजेन्डा भ्रष्टाचार विरोधी अभियान रहेको र यसको सुरुवात माओवादी केन्द्रका नेताहरूको सम्पत्ति छानबिनबाटै हुनुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचारको विषयमा पार्टी अध्यक्षलाई समेत नछाडिने कठोर अडान राख्दै उहाँले भन्नुभयो, “यदि माओवादी केन्द्रमा भ्रष्टाचार छ र त्यो पुष्टि भएमा हाम्रो सुप्रिम कमान्डर प्रचण्डलाई पनि तपाईंहरूले जेल हाल्न सक्नुहुन्छ । रेडफोर्सले देशका कुनै पनि भ्रष्टाचार सहने छैन ।”
एजेन्डा परिवर्तनकारी
रेडफोर्सले राजनीतिक प्रणालीमा समेत परिवर्तनकारी एजेन्डा अगाडि सारेको छ । जसमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र २००७ सालदेखि अहिलेसम्म सत्तामा पुगेका सबै नेताहरूको सम्पत्ति छानबिन रहेका छन् ।
कांग्रेस–एमालेलाई चेतावनी
तिमिल्सिनाले आफूहरूले परिवर्तनकारी एजेन्डा बोकेकाले कांग्रेस र एमालेमा क्रान्तिकारीहरूलाई आतंकवादी भन्ने पुरानो बानी रहेको भन्दै उनीहरूले जेनजीलाई पनि आतङ्ककारी घोषणा गर्ने खतरा रहेको चेतावनी दिनुभयो ।
उहाँले रेडफोर्स माओवादीको मात्रै नभई वामपन्थी र कम्युनिस्ट विचारधारा मन पराउने सबै युवालाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ ।

















