११ कात्र्तिक, काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर पुगेका छन् ।
सोमबार राति काठमाडौँबाट प्रस्थान गरेका देउवा दम्पतीलाई सिंगापुर विमानस्थलमा ह्विलचेयरमा देख्दा उहाँहरूको स्वास्थ्य अवस्थाबारे पुनः चासो बढेको छ । गत भदौ २४ गते बुढानीलकण्ठस्थित आफ्नै निवासमा जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती गम्भीर घाइते भएका थिए । आक्रमणबाट सभापति देउवाको गर्धन र टाउकोमा तथा आरजुको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
उपचारपछि असोज २८ गते सार्वजनिक हुँदै देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए। त्यसबेला देउवाले कार्यकारी भूमिका त्याग गरेको घोषणा गरेका थिए । थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि देउवा दम्पती अहिले सिंगापुर प्रस्थान गरेका हुन् । तस्बिरमा ह्विलचेयरको प्रयोगले आक्रमणपछि उहाँहरूको चोट पूर्ण रूपमा निको भइनसकेको सङ्केत गर्दछ।
















