Logo

११ कात्र्तिक, काठमाडौँ । अविरल वर्षा र बाक्लो हिमपातका कारण अन्नपूर्ण आधार शिविर पदयात्रा क्षेत्रमा पूर्ण रूपमा रोक लगाइएको छ ।

मौसम बिग्रिएपछि पदमार्गका विभिन्न विन्दुहरूमा पर्यटकहरू फसेका खबर आएसँगै उनीहरूको उद्धारका लागि सुरक्षा निकाय र स्थानीय उद्धार टोलीहरू परिचालित भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्र शेरचन थकाली लगायतको संयुक्त टोलीलाई अन्नपूर्ण गाउँपालिकाको समन्वयमा उद्धार कार्यका लागि खटाइएको छ ।

उद्धार टोलीका सदस्य शेरचनका अनुसार, वर्षा र हिमपातका कारण पदयात्रीहरूलाई तल झर्न र माथि उक्लिन समस्या भइरहेको छ।‘विभिन्न स्थानमा मानिसहरू फसिरहेको सूचना हामीले पाएका छौँ । उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन हामी तत्काल परिचालित भएका छौँ’ शेरचनले बताए ।

गाउँपालिकाले पदयात्रामा रहेका पर्यटकहरू तथा उनीहरूका आफन्तलाई आवश्यक सहयोग वा सूचना चाहिएमा तत्काल प्रहरी कन्ट्रोलको १०० नम्बरमा वा नजिकको प्रहरी चौकी या गाउँपालिकाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।


सम्बन्धित समाचार