११ कात्र्तिक, काठमाडौँ । बीपी लोकमार्ग अन्तर्गत सिन्धुलीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बीपी लोकमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका–६, चैनपुरमा आज बिहान भएको कार दुर्घटनामा मोरङका एक पुरुषको मृत्यु भएको हो । मोरङको विराटनगर–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको दुर्घटनामा परि मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जानकारी दिएको छ । उनी आफैले चलाएको बा ७ च ७५५४ नम्बरको कार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गर्दा बिहान करिब ११ः१५ बजे सडकबाट करिब ४२ फिट तल खसेर प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक ओमबहादुर अर्जेललाई प्रहरीले उद्धार गरी स्थानीय सामुदायिक अस्पताल खाल्टे पुर्याएको थियो । तर, उनको उपचारकै क्रममा दिउँसो चिकित्सकले मृत घोषणा गरेका छन् । सोही कारमा सवार मृतककी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन् ।
सुनिताको दाहिने हातसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ भने निशान्तको दाहिने हातमा मध्यम चोट लागेको छ । घाइते दुवै जनालाई खाल्टेमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
















