Logo

११ कात्र्तिक, काठमाडौँ । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा भएको आगजनी र लुटपाटको घटनामा संलग्न एक जना पूर्वसैनिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्ति कञ्चनपुरका २७ वर्षीय भुवन शाही रहेको र उनले प्रहरी युनिट र शैक्षिक संस्था दुवैमा क्षति पुर्‍याएको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिएअनुसार, सोमबार नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएका शाही धापासी बस्दै आएका थिए ।

दुई स्थानमा आगजनी र लुटपाटमा संलग्नता

प्रहरी अनुसन्धानबाट भुवन शाही भदौ २४ गतेको प्रदर्शनका क्रममा दुई प्रमुख घटनामा संलग्न रहेको पुष्टि भएको छ । प्रहरी वृत्त गौशाला तोडफोड, आगजनी र लुटपाटमा उनको संलग्नता देखिएको छ। ग्लोबल कलेजमा पनि तोडफोड र लुटपाटमा उनी संलग्न रहेको अनुसन्धान अधिकृतहरूले बताएका छन् । प्रहरीले शाहीको साथबाट प्रदर्शनका क्रममा लुटिएको प्रहरीको राइट कन्ट्रोल गियरको हातमा लगाउने भाग र ग्लोबल कलेजको २ थान ट्रफी समेत बरामद गरेको छ।

बर्खास्त भएका थिए शाही

आरोपी भुवन शाहीको पृष्ठभूमि पनि रोचक छ । उनी २०७४ सालमा नेपाली सेनामा भर्ना भएका थिए । तर, नक्कली चालक अनुमति पत्र पेश गरी सेवा प्रवेश गरेको भेटिएपछि जङ्गी अड्डाले उनलाई २०७५ सालमै बर्खास्त गरेको थियो । एक जना पूर्वसुरक्षाकर्मी नै प्रदर्शनको आडमा आगजनी र लुटपाटमा संलग्न भएको पाइनुले घटनाको गाम्भीर्यता बढाएको छ। प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार