१२ कात्तिक,नयाँ दिल्ली । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र भारतका विद्युत मन्त्री मनोहरलाल खट्ठर बीच बुधबार भेटवार्ता भएको छ।
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन नयाँ दिल्ली गएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीचको भेटवार्तामा नेपाल–भारतबीचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत व्यापार, प्रसारण लाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति, र दीर्घकालीन ऊर्जाक्षेत्र साझेदारीका विषयमा विस्तृत छलफल भएको छ।
भेटमा भारतका लागि नेपालका राजदूत शंकर प्रसाद शर्मा, भारतका विद्युत सचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतम समेत उपस्थित थिए।
नेपाल–भारतबीचको ऊर्जा क्षेत्रको सहयोग आगामी दिनमा दुवै देशका लागि समृद्धि र दीर्घकालीन साझेदारीको मार्ग तयार गर्ने विश्वास गरिएको छ।
















