१२ कात्तिक,वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम शुल्क नतिरेको भन्दै बिजुली काटेपछि शंकर समूहअन्तर्गतका जगदम्बा स्टिल र जगदम्बा सिन्थेटिक उद्योग बन्द भएका छन्।
प्राधिकरणका अनुसार, जगदम्बा स्टिलले १ अर्ब ६० करोड १८ लाख रुपैयाँ र जगदम्बा सिन्थेटिकले २० करोड ५० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी राखेका छन्।
बिजुली आपूर्ति रोकिएपछि उद्योग सञ्चालन असम्भव बनेको भन्दै समूहका उपाध्यक्ष सुलभ अग्रवालले दुवै उद्योगका २ हजार ८ सय कर्मचारीहरूलाई बिदामा पठाइएको जानकारी दिएका छन्। तीमध्ये स्टिल उद्योगमा २२०० र सिन्थेटिकमा ६०० जना कर्मचारी कार्यरत छन्। अग्रवालले लामो समय उद्योग बन्द रहँदा तलब–भत्ताबारे थप निर्णय लिइने बताएका छन्।
उनका अनुसार, प्राधिकरणले ‘विद्युत् अतिरिक्त उपभोगको प्रमाण’ प्रस्तुत गर्न नसकेको दाबी गर्दै प्रयोग नगरेको महसुल तिर्नु अन्याय हुने बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणले भने प्रिमियम शुल्क नतिर्ने देशभरका २५ उद्योगको लाइन काटिसकेको जनाएको छ। यसअघि पनि मासिक महसुल नतिरेको भन्दै एभरेस्ट पेपर मिलको लाइन काटिएको थियो।
















