Logo

१३ कात्र्तिक, काठमाडौँ । बहुचर्चित पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहितका प्रतिवादीहरूको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदैछ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासमा यो महत्त्वपूर्ण मुद्दाको पेसी तोकिएको छ ।

के हो आरोप?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधव नेपाल ले पदको दुरुपयोग गर्दै सरकारी सम्पत्ति गैरकानुनी रूपमा हस्तान्तरण गरेको र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप लगाएको छ । अख्तियारले यो प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले माधव नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजायको मागदाबी गरेको छ।

कसरी भएको थियो हिनामिना?

अभियोगपत्रमा उल्लेख भएअनुसार, तत्कालीन प्रधानमन्त्री नेपालले २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेका थिए। यसअघि नै उनले २०६६ माघ १८ गते ठाडो आदेश दिएर पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिलाएको दाबी अख्तियारको छ ।
कुल ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा हिनामिना भएको भन्दै दायर गरिएको यो मुद्दाको सुनुवाइ आज विशेष अदालतमा हुँदैछ, जसको आदेशले पूर्वप्रधानमन्त्री नेपालको राजनीतिक भविष्यमा ठूलो असर पार्न सक्छ।


सम्बन्धित समाचार