३ कात्र्तिक, काठमाडौं । गत जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीको ठूलो मात्रामा पोशाक तथा सामग्री हराएको वा नष्ट भएको पाइएको छ ।
आन्दोलन समाप्त भएको डेढ महिनापछि प्रहरीको आन्तरिक छानबिन समितिले यससम्बन्धी प्रतिवेदन बुझाएको हो । डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा आन्दोलनका क्रममा प्रहरी पोशाकतर्फ मात्र १ लाख २० हजार ६६१ मिटर बराबरको कपडा लुटपाट तथा जलेर नष्ट भएको उल्लेख छ।
हराएका पोशाकहरूमा ट्राफिक पोशाक, साधारण बर्दी र गर्भवती महिलाले लगाउने विशेष पोशाकहरू समेत रहेको प्रतिवेदनमा उल्लेख छ । नष्ट भएकामध्ये कति पोशाक लुटपाट गरियो र कति जलेर नष्ट भए भन्ने छुट्टै विवरण भने प्रतिवेदनमा खुलाइएको छैन ।
साथै, गायब भएका यी सबै पोशाकहरूको कुल मूल्य कति हो भन्ने तथ्याङ्क पनि प्रतिवेदनमा उल्लेख नगरिएको बुझिएको छ । यो ठूलो क्षतिले आन्दोलनको व्यवस्थापन र प्रहरी सामग्रीको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

















