१४ कार्तिक, वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) पर्साका नेता अमिताभ बच्चन दासले वामपन्थी शक्तिबीच एकता नै नेपालको समाजवादी यात्राको प्रमुख आधार रहेको बताउँदै विभाजनलाई प्रतिक्रान्तिको बीउका रूपमा चित्रण गरेका छन् ।
अहिले नेपालको राजनीतिक परिदृश्यमा वामदलबीचको फुटले जनताका उपलब्धि जोखिममा पारेको भन्दै त्यसको अन्त्यका लागि वाम एकता अपरिहार्य बनेको दासको बुभाई छ ।
“एकता नै समाजवादको मुख्य आधार र मुटु हो, विभाजन भनेको समाजवादको बीउ नै नष्ट गर्नु हो,” दासले भने, “यदि अहिले वामपन्थी दलहरू एक ठाउँमा नआए भने जनताको समृद्धि र आत्मनिर्भरताको सपना सयौँ वर्ष पछाडि धकेलिनेछ।”
“फुटे वामदलहरू, हराउँछ परिवर्तनको एजेन्डा”
नेता दासले हाल नेपालमा वामपन्थी दलहरूबीच देखिएको आपसी प्रतिस्पर्धा र अविश्वासले जनता बीच भ्रम र निराशा बढाएको बताए । उनका अनुसार पार्टीगत स्वार्थ र सत्ताको लोभले क्रान्तिका मूल्य र आदर्शहरू कमजोर हुँदै गएका छन्।
“कम्युनिस्ट पार्टी नामक पसलहरू एकपछि अर्को गर्दै बन्द हुने अवस्थामा पुगेका छन्,” उनले भने, “यदि तत्काल एकता र सहकार्यको मार्ग नखोजियो भने अहिलेका नेताहरूको इतिहासमा कालो धब्बा लाग्नेछ।”
वामदलबीचको फुट र अविश्वासको वातावरणले संविधान, गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रजस्ता प्राप्त उपलब्धिहरू खारेज हुने खतरा निम्त्याउने उनको अड्कल छ ।
उनका अनुसार यस्तो अवस्थामा नेपाल “राजनीतिक खारानी मात्र बाँकी रहने राष्ट्रमा रूपान्तरण हुने जोखिममा छ ।”
नेता दासले सम्पूर्ण वामपन्थी दलका नेता र कार्यकर्ताहरूलाई सतर्क, संयमित र संगठनात्मक रूपमा एकजुट हुन आग्रह गरेका छन् । “हामीले नारामा मात्र होइन, व्यवहारमै एकताको उदाहरण दिनुपर्छ,” उनले भने, “सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समाजवाद नै अहिलेको राजनीतिक दिशानिर्देश हुनुपर्छ।”
उनले वाम शक्तिहरूबीच विचार र नीतिगत मतभेद भए पनि राष्ट्र, जनता र परिवर्तनका एजेन्डा साझा भएकाले एकताको आधार तयार गर्न सकिने विश्वास व्यक्त गरे ।
दासले थपे, “वाम एकता कुनै दलको स्वार्थ होइन, राष्ट्र र जनताको भविष्यसँग जोडिएको विषय हो। त्यसैले सबै नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर ऐतिहासिक जिम्मेवारी वहन गर्नुपर्छ।”
नेपालको वर्तमान राजनीतिक संक्रमणबाट स्थायित्व, समृद्धि र समाजवादतर्फ अघि बढ्ने बाटो वाम एकता र सामूहिक नेतृत्वको संस्कारमा निर्भर रहेको माओवादी केन्द्रका नेता दासको भनाइ छ ।
उनले वामदलहरूबीचको सहकार्यलाई “जनताको सपना साकार गर्ने ऐतिहासिक अवसर” भन्दै विभाजनले ल्याउने प्रतिक्रान्तिबाट बच्न सबै वाम नेताहरूलाई एक ढिक्का बन्ने आग्रह गरेका छन् ।

















