१४ कात्र्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकमा सुशासन, स्थायित्व र राजनीतिक सहकार्यलाई केन्द्रमा राखेर आज वृहत् राजनीतिक संवाद कार्यक्रम आयोजना गरेको छ ।
काठमाडौंको बालुवाटारस्थित एक होटलमा केहीबेरदेखि सुरु भएको यो संवादले नयाँ राजनीतिक विकल्पको खोजीमा जोड दिएको छ । रास्वपाले आयोजना गरेको यस महत्वपूर्ण संवादमा पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता डा. बाबुराम भट्टराई र नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी लगायतका व्यक्तित्वहरू सहभागी छन्। रास्वपाका तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले लगायतका नेताहरू पनि छलफलमा सक्रिय छन् ।
जेनजीको भावना र नयाँ विकल्पको खोजी
रास्वपाले पछिल्लो जेनजी आन्दोलनको मर्म र भावना अनुरूप नयाँ राजनीतिक विकल्पका लागि यो संवाद आयोजना गरेको जनाएको छ। उपसभापति वाग्लेले नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरूबीच सहकार्य नहुँदा ‘पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाु रहने यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफल आयोजना गरिएको स्पष्ट पारेका छन् । यस संवादलाई रास्वपाले भविष्यमा बलियो राजनीतिक ध्रुवीकरणको आधार तयार गर्ने प्रयासका रूपमा हेरिएको छ।
















