१४ कात्र्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको प्रक्रिया छिट्टै टुङ्गिने र एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र तथा समाजवादी पार्टी नेपालबीच एकता हुने ठोकुवा गरेका छन् ।
शुक्रबार केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीभित्र झलनाथ खनाल पक्षधरले एकता नगर्ने सुझाव दिए पनि बहुमत केन्द्रीय समिति बैठकले भने एकताको पक्षमा नै निर्णय लिने निश्चित रहेको बताएका छन् । एकताको सैद्धान्तिक आधारबारे बोल्दै उनले माओवादी केन्द्रले आफ्नो मार्गदर्शक सिद्धान्तबाट माओवादलाई छोड्ने र एकीकृत समाजवादीले पनि मार्क्सवाद–लेनिनवादलाई नै स्वीकार गर्ने सहमति भइसकेको दाबी गरेका छन् ।
खतिवडाले एकताको प्रक्रिया तत्काल अघि बढ्ने जानकारी दिँदै दुई पक्षबीच धेरै विषयमा छलफल भई दस्तावेज आदानप्रदान गरेर सैद्धान्तिक समानता स्थापित भइसकेपछि मात्र एकता प्रक्रियामा लागेको स्पष्ट पारे ।
यसै क्रममा उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘पुरानै घर फर्किनुस्’ भन्दै गरेको आह्वानलाई आफ्नो पार्टी एकता भाँड्नका लागि गरिएको षड्यन्त्र मात्र भएको आरोप लगाए, जसमा ओली एकताको पक्षमा कहिल्यै नभएको उनको जिकिर थियो। अन्त्यमा, एकता प्रक्रिया सकिएपछि निश्चित विधिबाट पार्टीमा पुस्ता हस्तान्तरण हुने पनि उनले जानकारी दिए ।

















